पुस्तकालयको कामको समीक्षा

रत्ननगर । झुवानी सामुदायिक पुस्तकालयले समुदायको विकासका लागि अहिले सम्म गरेका कामहरुको सोमवार समीक्षा गरिएको छ । सरकारी निकाय तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु बीच आयोजना गरिएको समन्वयात्मक वैठकमा पुस्तकालयले गरेका कामहरुको समीक्षा गर्दै सुझाव संकलन गरिएको हो ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले पुस्तकालयले स्थानीयलाई पुस्तक प्रयोग देखि स्थानीय समुदायको जीविकोपार्जनको लागि आयआर्जनको कार्यक्रम गरिरहेको जानकारी दिए । उनले समुदायको स्वास्थ्यका रक्षाको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । पुस्तकालयले मातृशिशु सेवा कार्यक्रम अन्र्तगत गाउँघर क्लनिक,आमाको माया,स्वास्थ्य शिविर लगायतका उपयोगी कार्यक्रम सचालन गर्दै आएको छ । स्थानीय समुदायमा सुचना प्रविधिको प्रयोगको लागि निशुल्क कम्प्युटर तालिम,इमेल इन्टरनेट सुविधा प्रदान गरिरहेको पुस्तकालयका अध्यक्ष आचार्यले बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भरतकुमार थापाले झुवानी सामुदायिक पुस्तकालयले सञ्चालन गरेका कार्यक्रम लोक कल्याणकारी भएकाले नगरपालिका हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।