पुस्तकालय दिवसमा सम्मान

शिक्षामन्त्री माधवप्रसाद पौडेलले छैटौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट सामुदायिक पुस्तकालय, पाठक र पुस्तकालयकर्मीलाई सम्मान गर्नुभयो ।
पुस्तकालय दिवसको मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा चितवनको झुवानी सामुदायिक विद्यालयलाई उत्कृष्ट पुस्तकालयका रुपमा सम्मान गरिएको हो ।यस्तै उत्कृष्ट पाठक सम्मान रातोबङ्गला माविका गौरव पाठक र उत्कृष्ट पुस्तकालयकर्मीका रुपमा नेपाल राष्ट्रिय पुस्तकालयका कर्मचारी अनुपमा उपाध्यायलाई सम्मान गरियो ।कार्यक्रममा दिवसका अवसरमा गरिएको माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।प्रतियोगितामा वीरेन्द्र सैनिक माविका भुवन रायमाझी प्रथम, बूढानीलकण्ठ माविका निषा काफ्ले द्वितीय, 
चकन्या उमाविका अम्बिकादेवी अधिकारी तृतीय तथा एसएम कलेजका सम्भवी रिमाल र तक्षशिला कलेजका अनिलजोशीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।कार्यक्रममा शिक्षामन्त्री पौडेलले सरकारले पुस्तकालयको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै यस क्षेत्रमा क्रमशः बजेट वृद्धि गर्दै जाने विश्वास दिलाउनुभयो ।
उहाँले राष्ट्र विकासमा पुस्तकालयको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै एक हजार ५३ विद्यालयमा ई–पुस्तकालय स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिनुभयो ।दिवस मूल समारोह समितिका अध्यक्ष तथा शिक्षा मन्त्रालयका सचिव नारायणगोपाल मलेगूले पुस्तकालय दिवसलाई आगामी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा सरकारले मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा अन्तर्राष्ट्रिय पुस्तकालय सङ्घका प्रतिनिधि मेरिन कोरिन, शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मालगायतले पुस्तकालयको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
दिवसकै अवसरमा आज भृकुटीमण्डपबाट सहरका विभिन्न भाग हुँदै कमलपोखरीसम्म ¥यालीको आयोजना गरिएको वसका प्रचारप्रसार समितिका संयोजक बाबुराम दाहालले जानकारी दिनुभयो । यस वर्षको दिवसको नारा ‘एक गाउँ, एक पुस्तकालयः एक विद्यालय, एक पुस्तकालय’ रहेको थियो ।