पूर्वी चितवनको बछौली गाविस वडा नं. ६ की दसिया महतो अहिले कुखुरापालन गर्छिन् । योभन्दाअघि उनले च्याउखेती गरेकी थिइन् । च्याउबाट भएको आम्दानीमा केही रकम थपेर उनले मासुका लागि बिक्री हुने ब्रोइलर कुखुरा पाल्न थालेकी हुन् । गाउँको झुवानी सामुदायिक पुस्तकालयले उनको जीवनमा यस्तो परिवर्तन ल्याएको हो ।‘दुई वर्षअघि पुस्तकालयले च्याउखेतीका बारेमा तालिम दिएको थियो । च्याउखेती हुँदै अहिले कुखुरा पाल्न थालेकी हुँन दसियाले भनिन् ।
तालिमपछि पुस्तकालयकै सहकारीबाट उनले ऋण झिकेर च्याउखेती सुरू गरेकी हुन् । त्यसबाट भएको आम्दानीले ऋणमात्रै तिरिएन, कुखुरा पाल्नका लागि ६० हजार रुपैयाँसमेत जुटायो ।झुवानीकै सोमलाल चौधरीको घरमा अहिले माहुरीका ५० वटा घार छन् । उनले पनि पुस्तकालयबाटै तरकारीखेती र माहुरीपालनसम्बन्धी तालिम लिएका थिए ।‘तालिमअघि जम्मा एक घार माहुरी थिए, अहिले ५० घार पु¥याएँ । अझै थप्दै लैजाने छु’, सोमलालले आफ्नो योजना सुनाए । अहिले तरकारी र मह बेचेर वर्षको दुई लाख रुपैयाँ कमाउने उनले बताए ।
पुस्तकालयको सहयोगमा आर्जन हुने काम सुरू गरेका व्यक्तिहरु यीमात्रै होइनन् । बछौलीकै ज्योति आलेले इम्ब्रोइडरी तालिम लिएपछि टिसर्टहरुमा विभिन्न जंगली जनावरका राम्राराम्रा बुट्टा भर्न थालेकी छन् । सौराहा आउने पर्यटकले यस्ता टिसर्ट किन्ने गर्छन् । कुमरोजका श्रीकृण पौडेलले गाईभौसीलाई थुनेलो भएमा उपचार गर्ने विधि पुस्तकालयमा रहेका किताबबाटै सिकेका हुन् । ‘सामान्य रुपमा बुझ्दा पुस्तकालय भनेको पढ्ने ठाउँमात्रै हो । तर पुस्तकालयबाट ज्ञान लिन सकिन्छ र त्यो ज्ञानले जीवनमा परिवर्तन पनि ल्याउँछ भन्ने बुझाउन आय आर्जनका काममा पनि सहयोग गरेका हौ’, झुवानी पुस्तकालयका पूर्वअध्यक्ष तथा नेपाली साुमदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष वासु ढुंगानाले भने ।
नेपालमा पुस्तकालयको प्रबद्र्धनका लागि काम गर्दै आएको रिड नामक गैरसरकारी संस्थाले ‘शिक्षा र विकासका लागि सूचना र प्रविधिको परिचालन’ परियोजना संचालन गरेको छ । सोही परियोजनाअन्तर्गत झुवानी पूस्तकालयको सेवा क्षेत्रअन्तर्गत रहेका स्थानीयले आर्य आर्जनका कार्यक्रममा पनि सहभागी हुने अवसर पाएका हुन् । चितवनको झुवानी र नवलपरासीको अग्यौली पुस्तकालयमार्फत सामुदायिक विकासका विभिन्न गतिविधि गरेको रिड नेपालका तपस भट्टराईले जानकारी दिए । ‘महिलालाई साक्षर बनाउने, आयमूलक कामको सीप सिकाउने र आर्थिक समस्या आउन नदिनका लागि सहकारी गठन गर्ने हाम्रो उद्देश्य हो’ भट्टराईको भनाइ छ ।
परियोजना सञ्चालन भएपछि झुवानी र अग्यौलीमा छवटा सहकारी गठन भएको छ । ८६७ महिलाहरु साक्षर भएका छन् । छवटा सहकारीका कुल सदस्य संख्या एक हजार ४५७ छ । यीमध्ये ९५ जनामात्रै पुरूष हुन् । सबै सहकारीमा गरेर एक करोड ३४ लाख १५ हजार ९९२ रुपैयाँ जम्मा भएको छ । दुवै गाविसका २३४ जना व्यक्ति विभिन्न आयमूलक काममा संलग्न भएको भट्टराईले बताए ।