बछौलीलाई साक्षर बनाउने प्रतिबद्धता

बछौली गाविसलाई साक्षर बनाउन स्थानीय सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । झुवानी सामुदायिक पुस्तकालय र श्रृजनशील सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेकोे कार्यशाला गोष्ठीमा बोल्नेहरुले निरक्षर हटाई साक्षर बनाउने प्रतिबद्धता जनाएका हुन् ।बोल्ने सरोकारवालाहरुले आआफ्नो क्षेत्रबाट आर्थिक, नैतिक, भौतिक सहयोग गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस गाउँ कमिटी सभापति केदार चापागार्इं, नेकपा एमाले अध्यक्ष गोविन्द रिजाल, एकिकृत नेकपा माओवादीका अध्यक्ष बासुदेव चापागार्इं, चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन रामप्रित यादव, झुवानी श्रोत केन्द्रकी श्रोत व्यक्ति अनिता अधिकारी, साना किसान कृषि सहकारी संस्था बछौलीका अध्यक्ष गोपी लम्साललगायतले बछौली गाविसलाई साक्षर गाविस बनाउने प्रतिवद्धता जनाएका हुन् ।  कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले साक्षर चितवन अभियान समाज परिवर्तन गर्ने अभियान भएकाले कोही पनि यो कार्यबाट टाढा हुन नहुने बताउनु भयो ।
बछौली गाविसमा एक हजार ३ सय १३ जना निरक्षर रहेको तथ्यांक छ । श्रृजनशील सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष नीमप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव आचार्यले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो । कार्यशाला गोष्ठी गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा भएको थियो ।