बाल्मीकि आश्रममा गर्दी सामुदायिक पुस्तकालयको स्वास्थ्य शिविर

माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयले चितवन राष्ट्रिय निकुञ्जसंगै रहेको बाल्मीकि आश्रम क्षेत्रमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भरतपुरस्थित मौलाकालिका अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट बाल्मीमि आश्रम क्षेत्रमा बसोवास गर्दै आइरहेका १४ घरपरिवारसंगै नवलपरासी जिल्लाबाट आएका पचासौंको स्वास्थ्य परीक्षण गरिएको पुस्तकालयका अध्यक्ष भरत तिमिल्सिनाले जनाउनुभयो । शिविर सञ्चालनका लागि पूर्वी चितवनको बछ्यौलीमा रहेको झुवानी सामुदायिक पुस्तकालय लगायत अन्य दातृ निकायहरुले समेत आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर सञ्चालनसंगै आश्रम क्षेत्रमा बस्ने चौधवटै घरपरिवारलाई प्रति परिवार ५०० रुपैंयाका दरले दशैं खर्च प्रदान भएको थियो भने प्रतिव्यक्ति एक वटा दाँत माझ्ने ब्रस, पेष्ट र साबुन लगायतका सरसफाई सामग्री प्रदान गरिएको थियो । टोलीले स्थानीय २६ जना बच्चाहरुलाई प्रतिव्यक्ति चारवटा कापी र चारवटै कलम समेत प्रदान गरेको थियो । विहान ६ बजे बरुवाबाट प्रस्थान गरेको पुस्तकालय टोली शिविर सम्पन्न गरी राती करीव १२ बजे माडी फर्किएको थियो । त्रिवेणी धामबाट लगभग ६ किलोमिटर पैदल यात्रा गरी बाल्मीमि आश्रम पुगेको उक्त टोलीका सम्पूर्ण सदस्यहरुले विहानको खाना साँझ करीव ६ बजेमात्र खान भ्याएको पुस्तकालयका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
मुख्यतः तामाङ र मगर सम्प्रदायको बस्ती रहेको बाल्मीमि आश्रम भौगोलिक नक्साङ्कनका आधारमा माडीको गर्दी गा.वि.स.को वडा नं. ९ मा पर्ने भएपनि यातायातको असुविधा र भौगोलिक विकटताका कारण प्रशासनिक र आर्थिक कारोवारका लागि जिल्ला वा अञ्चलमात्रै नभई विकास क्षेत्रनै फरक पर्नेगरी नवलपरासीमा निर्भर हुनुपरेको छ । धार्मिक तथा ऐतिहासिक महत्वको त्यस भूमिमा पुग्न पूर्व–पश्चिम राजमार्गको बर्दघाटबाट करिब २७ कि.मि. दक्षिण नवलपरासीको त्रिवेणी हुँदै जानुपर्छ । त्रिवेणीबाट डुंगामा नारायणी नदी तरेर पूर्वतर्फ करिब एक घन्टा जंगलको बाटो हिँडेपछि वाल्मीकि आश्रम पुगिन्छ । बर्सात्को समयमा भने यो बाटोबाट आश्रम पुग्न सकिँदैन भने अरू समयमा पनि जंगली जनावको डर रहिरहन्छ । नारायणी नदीमा भारतीयपक्षले बनाएको पुल तरेर विहारको वाल्मीकि नगरबाट करिब सात किलोमिटर भारतीय जंगलको यात्रा गरेपछि पनि आश्रम पुग्न सकिन्छ । तर, त्यताबाट हिँड्दा बाटोमा भारतीय सुरक्षाकर्मीबाट प्रशस्तै झमेला व्यहोर्नुपर्छ । मध्य नेपालको चितवन जिल्लामा रहेर पनि यो पवित्र भूमिसम्म पुग्न कुनै स्थायी बाटो नहुँदा जो कोहीको पनि मन कुडिँने गरेको छ ।
आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान छ । वरिपरि लव–कुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, शिक्षा ग्रहण गरेको स्थान, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक र धार्मिक वस्तु अवशेषका रूपमा छन् । संसारमा विरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ती सीता मन्दिरबाहिर प्रतिष्ठापित छ । सीताले मसला पिस्ने गरेको सिलौटो पनि सुरक्षित राखिएको छ । ढुंगाको लौरोले महिलाले मसला पिसेमा पेटको रोग नहुने र उनीहरूले पकाएको खाना स्वादिष्ट हुने विश्वासले त्यहाँ पुग्ने महिला सिलौटोमा मसला पिस्न थालिहाल्छन्, तर उचित संरक्षण अभावमा ती अवशेष लोप हुने स्थितिमा पुगेका छन् । नेपाल–भारत सीमानजिक पर्ने यस स्थानमा अन्य देवीदेवताका मठमन्दिरहरु पनि छन् । पर्यटकीय दृष्टिले समेत यो स्थान महत्वपूर्ण मानिन्छ ।