झुवानी सामुदायिक पुस्तकालयको कार्यक्रमको समिक्षा बैठक सम्पन्न

रत्ननगर ५ स्थित झुवानी सामुदायिक पुस्तकालयले गत वर्ष गरेको क्रियाकलाहरुको समिक्षा गरिएको छ ।
स्थानीय जनप्रतिनिधी,विभिन्न संघसंस्थाका प्रतिनिधीहरुबीचको शुक्रवार आयोजित समन्वयात्मक वैठकमा गत वर्ष पुस्तकालयले गरेको एक वर्षे गतिविधी र आगामी कार्यक्रमका बारे जानकारी गराईएको हो ।
सो अवसरमा पुस्तकालयका अध्यक्ष केशव आचार्यले पुस्तकालयले प्रदान गरेको जिविकोपार्जन तालिमबाट ७ जनाले कुखुरापालन व्यवसाय , १० जनाले मौरीपालन,५ जनाले वाख्रापालन,२० जनाले गाईभैसीपालन,१५ जना कृषकले च्याउखेती सुरु गरेको अध्यक्ष आचार्यले वताए । यसैगरी गत वर्ष गाउँघर क्लिनिकबाट १ हजार ६० जनाले सेवा पाउनुका साथै २३ हजार ४ सय १० जनाले पुस्तकालयको प्रयोग गरेका छन् ।
पुस्तकालयले संचालन गरेको एम्वुलेन्स सेवाबाट १ सय जना गर्भवतीले निशुल्क सेवा पाएको अध्यक्ष आचार्यले वताए ।
पुस्तकालयले शिक्षा,स्वास्थ्य,प्राविधिक ज्ञान सेवा तथा मौसमी सुचना,घुम्ती सुचना केन्द्र,जिविकोपार्जन तालिम लगायत सेवा प्रवाह गर्दै आएको छ । प्राविधिक ज्ञान सेवा अन्र्तगत २ हजार ४ सय ८१ वटा स्थानीयको जिज्ञासामा सवै जिज्ञासा समाधान भएको आचार्यले वताए ।
सो अवसरमा रत्ननगर ५ का वडाध्यक्ष कृष्ण चौधरी,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना,रत्ननगर नगरपालिका कृषि शाखा प्रमुख शिव पौडेल, पशु सेवा शाखा प्रमुख शालिकराम पौडेल लगायत स्थानीय राजनितिक दलका प्रतिनिधीहरुले आआफ्ना धारणा राखेका थिए ।