कोठामै बसेर गर्भवतीको अवस्था थाहा पाउने प्रविधि भित्र्याइयो

कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्रयाएको छ । ‘आमाको मायाँकार्यक्रमअन्तर्गत चितवनमा उक्त प्रविधि भित्रयाइएको हो । डेढ महिनादेखि उक्त कार्यक्रम यहाँ परीक्षणका रुपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।


गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरुलाई एक शतप्रतिशत अस्पताल सेवा पुर्‍याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो । आमाको मायाँ मोबाइल एप्लिकेसनमार्फत उक्त सूचना सम्बन्धित ठाउँमा पुग्ने पुस्तकालयले जनाएको छ ।उक्त कार्यक्रमका लागि चितवनको बछौली गाविसमा नौजना स्वास्थ्य स्वयम्सेविकालाई सुविधायुक्त माइक्रोम्याक्सको मोबाइलसमेत उपलब्ध गराइएको छ । स्वयम्सेविकाहरुले घरघरमा पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइलमा टाइप गरेर राखेपछि सर्भरमार्फत उक्त जानकारी कन्ट्रोल कक्षमा पुग्ने र सो कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरु गर्भवतीलाई दिने गरिएको छ ।

कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्नेसम्मको जानकारी मोबाइल एप्लिकेसनबाट गर्ने गरिएको स्वास्थ्य स्वयम्सेविका अर्चना दवाडीले बताए । यदि चिकित्सकको भनाइ अनुसार मेल खाएन र महिलामा समस्या देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जान सोही एप्लिकेसनमार्फत नै सूचना दिने प्रविधि यसमा छ ।
सो क्रममा गर्भवती महिलालाई हरेक हप्तामा शिशुमा हुने अवस्थाका बारेमा भिडियो र अडियो सामग्रीमार्फत पनि सूचना दिइन्छ । कुनै अवस्थामा गर्भवतीमा समस्या आए/नआएको पनि जानकारी हुने र सोही बेला चिकित्सकीय सेवासमेत दिन सकिने अध्यक्ष आचार्यले जानकारी दिए ।

उक्त कार्यक्रममा अहिले बछौंली गाविसमा २७ गर्भवतीको रेकर्ड गरिएको छ । केही गर्भवती आफैँले मोबाइल एप्लिकेसनमार्फत जानकारी लिने र दिने गरेको पुस्तकालयको स्वास्थ्य उपसमितिका संयोजक रामप्रसाद सापकोटाले बताए । रासस